तन्त्रमन्त्र गरेको आरोपमा सफारी चालकको हत्या, ७ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् ।

चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । प्रहरीका अनुसार उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्