काठमाडौं । लगातार दुई वर्षको बाढीपहिरोले क्षति पुर्याएको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ। अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको करिब २८ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको थियो।
क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ।४ खण्डमा पर्ने २५ किलोमिटर सडकको पुनर्निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाँकी ३ किलोमिटर खण्ड ८८जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०८८को सहायतामा पुनर्निर्माण हुने छ। डिजाइन स्वीकृत भइसकेको र ठेक्काको प्रक्रिया अन्तर्गत रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार पुनर्निर्माणको अवस्था स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनमा सडक विभागका महानिर्देशक विजय जैशी र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपाने पनि सहभागी थिए।
मन्त्री घिसिङले विभिन्न खण्डमा भइरहेको कामको प्रगति, निर्माण तालिका, अस्थायी डाइभर्सन व्यवस्था र जाइकाले निर्माण गर्ने खण्डको तयारीबारे छलफल गरेका छन्।
हाल अस्थायी डाइभर्सन खोला किनारबाट निर्माण गरिएको छ। तर वर्षायाम सुरू भएपछि डाइभर्सन प्रयोगयोग्य नहुने भएकाले मन्त्री घिसिङले आवश्यक संरचना वर्षायामअघि पूरा गर्ने निर्देशन दिनुभयो। साथै, जनशक्ति थप्ने, विद्युतको व्यवस्था गरी रात्री समयमा पनि काम गर्न निर्देशन दिइएको छ।
बीपी राजमार्ग, काठमाडौंलाई पूर्वी क्षेत्रसँग जोड्ने लाइफलाइन सडक हो। जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको यो सडक १६० किलोमिटर लामो छ। गत वर्षको बाढीले ३०।५ किलोमिटर सडकलाई क्षतिग्रस्त बनाएको थियो। क्षतिग्रस्त इन्टरमिडियट लेनलाई दुई लेनको सडकमा पुनर्निर्माण गरिँदैछ।










