आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।

यो वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ। हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ।

अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उनीहरूको आवश्यकता अनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता छ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी बताए ।

यस्तै प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्