हामीले अटोशोरुममा गएर गाडी किन्छौ । तर, त्यो गाडी चलाउन सक्षम चालक भएन भने जति बेला पनि दुर्घटनामा पर्न सक्छ । गाडी दुर्घटनामा परेपछि आफूपछि मर्छ अरूलाई पनि मार्छ । तर, त्यसमा गाडीको त केही दोष छैन । किन कि त्यो गाडी त नयाँ थियो । तर, अनुभव नभएको र गतिलो चालक नराख्दा चालककै कारणले लगानी डुब्यो । दुर्घटना भयो, अकालमा कसैको ज्यान गयो । यो उदाहरण पनि ठ्याक्कै हाम्रो मुलुकमा लागू भयो । जसरी गाडी चलाउनलाई ड्राइभर राखिएको छ, देश चलाउनलाई नेता छन् । ड्राइभर गतिलो भयो भने उसले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउँछन् । नेता गतिलो भयो भने देशको पुरै रूप नै फेरिन्छ । तर, नेताहरू कामचोर, भ्रष्ट्राचारी र घुस खोरी भएको देशका जनताले जति दुःख सायदै अरू कसैले खेप्नुपर्छ होला ।
अरू मुलुकलाई र नेपाललाई तुलना गरौँ । नेपाल सबैभन्दा पुरानो मुलुक भए पनि यहाँको स्थिति निकै नै कहालीलाग्दो छ । तर, अरू मुलुकका नेताहरूले देशलाई सबै स्रोतसाधनका समृद्ध भएर देखाए । हाम्रोभन्दा ढिलो पहिचान पाएका मुलुकहरू आज कहाँबाट कहाँ पुगिसके । यात्रुलाई सुरक्षित यात्रा गराउन, राम्रो बोली वचन गर्नु र चढ्दा ओराल्दा सहज बनाउनु सहचालकको पनि जिम्मेवारी हो । तर, हाम्रो देशको नेतासँग खलासी बन्न सक्ने क्षमता पनि छैन । भाषण दिइरहेको बेला गालीगलौज गर्ने, गुण्डागर्दी देखाउने र अरूलाई बेइज्जत गरेर आफूलाई माथि देखाउने खोज्ने उनीहरूको आनीबानी जस्तै भइसकेको छ । अरूलाई गाली गर्दा आफू ठुलो देखिने सोचाइ राजनीतिक दलका नेताहरूमा देखिन्छ । कतिखेर कुन शब्दको प्रयोग गर्नुपर्छ यिनीहरूलाई थाहा छैन ।
यिनीहरूलाई आउने दुई वटा कुरा: जनता ढाँट्न, भ्रष्ट्राचार गर्न । यस्ता राजनीतिक दलबाट मुलुकमा विकास हुन्छ भन्ने जनतालाई विश्वास छैन । देशले फड्को मार्ला, महँगी नियन्त्रणमा आउला भन्ने पनि जनतालाई छैन । साथै, विदेशीको ऋणमा दलदलबाट नेपालले छुटकारा पाउलान् भनेर नसोच्नु नै बेस होला । हाम्रो मुलुकमा भएका नेताहरू कुनै भारत, कुनै अमेरिका र कुनै चीनको दलाली हुन् । जसरी यातायात कार्यालयमा लेखनदासहरू दलाल गर्न बसेका हुन्छन् । यिनीहरू नेपाल बेच्नका लागि दलाल गर्न बसेका हुन् । जनताले यिनीहरूलाई नेता भन्दैनन् । आफ्नै पार्टीका कार्यकर्ताले मात्र नेताको रूपबाट हेरेका छन् । कुनै कार्यक्रममा नेता आएर भाषण गर्यो भने जनताले एउटै कुरा भन्छन्: फटाहाले भाषण दिइरहेको छ ।
किन कि नेपालीहरू राजनीतिक दलसँग वाक दिक्क भइसकेका छन् । हालको देशका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच चोटि प्रधानमन्त्री भइसकेको व्यक्ति हुन् । पाँच चोटि प्रधानमन्त्री हुँदासमेत उनले एउटा सिन्को पनि भाँचेनन् । बरु, अर्बौँको व्यक्तिगत सम्पत्ति जोडे । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई चोटि प्रधानमन्त्री भए । उनीबाट पनि केही काम हुन सकेँ । पहिलो चोटि प्रधानमन्त्री हुँदा पशुपतिको पुजारी र आर्मीको एउटा कर्मचारीलाई चलाएर पद नै त्यागेर भाग्नुपर्यो । एमालेका अध्यक्ष केपी ओली तीन चोटि प्रधानमन्त्री भए । तीन वर्षको उनको उपलब्धि: आफ्नो कार्यकर्तालाई ठेक्कापट्टा दिने । नातागोतालाई राजदूत बनाउने ।
बालुवाटारमा नेपालको नक्सा अंकित केक काटेर खाने । जनताले तिरेको करबाट भोज लगाउने । अघिल्लो दिन राप्रपा भएको कोमल वलीलाई भोलिपल्ट एमालेको मनोनीत सांसद बनाउने पनि केपी नै हुन् । जनताले पाँच वर्ष सत्ता चला भनेर दिँदा पनि नसकेर दुई चोटि संसद् विघटन गर्ने । जनता नदेख्ने तर गोकुल बास्कोटा र महेश बस्नेत मात्र चिन्ने । आफ्नै पार्टीका सांसदलाई समेत नचिन्ने । झलनाथ खनाल पनि एक चोटि प्रधानमन्त्री भए । तर, विकासको एउटा ढुङ्गोसमेत फुटाउन सकेनन् । केही काम नै नगरी नौ महिनाको अवधि समाप्त पारे । २०६४ सालमा दुई वटा क्षेत्रबाट चुनाव हारेको माधव नेपाललाई पुष्पकमल दाहालले प्रधानमन्त्री बनाइदिए । तैपनि, उनले दिन कटाउने र माना पचाउनेबाहेक अरू केही काम गरेनन् । आफ्नालाई मन्त्री बनाउने र बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए ।
जब बाबुराम भट्टराई प्रधानमन्त्री भए तब जनताले धेरै आस गरेका थिए । मुलुकमा विकासको मूल फुट्छ, बेरोजगारी हट्छ भन्नेमा सबै जना विश्वस्त थिए । तर, भट्टराईले पनि माथिकै काममा निरन्तरता दिए । आफू भ्रष्ट्राचार नगर्ने भन्ने तर श्रीमती हिसिला यमीले जे भने पनि मान्ने । भट्टराईले पनि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए । यता, थानकोटको मातातिर्थको हजारौँ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिए । स्वर्गीय प्रधानमन्त्री सुशील कोइराला एउटा त्यागी नेता हुन् । आफू प्रधानमन्त्री भएको बेला उनले संविधान बनाए । तर, काँग्रेसका नेताहरूले उनलाई भुङ्ग्रोमा राखेर आगो फुके । संविधान बनाउने सुशील कोइराला तर त्यसको फाइदा उठाउनेचाहिँ काँग्रेस । आजको दिनमा कुनै काँग्रेसका नेताले सुशील कोइरालाले संविधान बनाएको भन्छन् ?
आफू ओझेलमा पर्ने हो कि भन्ने डरले कसैले पनि सो कुरा कोट्याउन चाहँदैनन् । हिजो कोइरालाले त्याग नगरेको भए सायद संविधान बन्दैनथ्यो होला । राजनीतिक दलहरूले सत्ता चलाउन नसकाउन, चुनाव गराउन नसकेर २०७० सालमा प्रधान न्यायाधीश खिलनाथ रेग्मीलाई प्रधानमन्त्री बनेको कुरा लुकाएर लुक्दैन । प्रधान न्यायाधीश रेग्मीले चुनाव गराएर पछि राजनीतिक दललाई नै सत्ता हस्तान्तरण गरेका थिए । कमल थापा, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो अवसरवादी नेता हुन् । सत्ताबाहिर बस्दा जनताको नाम लिने । मन्त्री पद पाउनका लागि योजना बनाउने । तर, सत्तामा पुग्ने बित्तिकै जनता र राष्ट्रको नारा बेचिदिने । यी नेताको हातमा सरकार चलाउन दिने हो भने देश बेचेर नखालान् भन्न सकिदैन् । किनकि यिनीहरू स्वार्थी नेता हुन् । राष्ट्र र जनतासँग होइन सम्पत्तिसँग यिनीहरूलाई मतलब छ ।
राजेन्द्र लिङदेनबाट जनताले केही अपेक्षा राखेका थिए । तर, उनी पनि माथि नै नेताचाहिँ निस्किए । अहिलेसम्म मन्त्री पद नपाएका लिङदेनलाई मन्त्री हुन साह्रै रहर लागेको कुरा उनको घोषणापत्रले देखाएको छ । अरू पार्टीका नेताझैँ उनले पनि सस्तो घोषणापत्र सार्वजनिक गरेका छन् । कर छुट गर्छु, सुत्केरीलाई मासिक भत्ता दिन्छु जस्ता उही पुराना शीर्षक उनको घोषणापत्रमा उल्लेख छ । बरु, विदेशीको ऋण लिन्न, खेतीयोग्य जमिन बचाउँछु, अरू देशको नाङ्गो हस्तक्षेप रोक्छु भनेको भए जनताले पत्याउँथे कि । कर नै नलिईकन सुत्केरीलाई भत्ताचाहिँ विदेशीबाट ऋण लिएर खुवाउने । अलिकति सोचविचार गरेर बोल्नुपर्दैन । जनताले पत्याउने घोषणापत्र त सार्वजनिक गर्नुपर्छ ।
२०७२ सालमा संविधान बन्दा भारतले नेपालमा नाकाबन्दी लगायो । आफ्नो स्वार्थ पूरा नभएपछि भारतले नेपालमा सबै सामानमा निर्यातमा रोक तोक लगाएको थियो । भारतको विरोध गरेर २०७४ सालको चुनावमा एमालेले जित्यो । त्यतिखेर केपी शर्मा ओलीले जित हासिल गर्न मनमा लागेका कुराहरू लेखेर घोषणापत्र सार्वजनिक गरेका अझै पनि सबैलाई स्मरण नै छ । सिलिण्डर विस्थापन गरेर घरघरमा ग्याँसको पाइप जडान गर्ने । पानी जहाज र रेल चलाउने । बूढाबूढीलाई मासिक पाँच हजार भत्ता दिने । बाटोमा मागेर खानेको अभिभावक बन्ने । टुहुरा बालबालिकालाई शिक्षादीक्षा प्रदान गर्ने । शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीलाई गरिखानेका निम्ति ऋण प्रदान गर्ने । झूटा आश्वासन दिएको एमालेले स्थानीय र राष्ट्रिय सभाको चुनावमा जित हासिल गर्यो । हिजो एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गर्यो । सो घोषणापत्रमा पनि जनतालाई भ्रममा पार्ने कुराबाहेक अरू केही लेखिएको छैन । जनताको नारा उल्लेख गरेर घोषणापत्र सार्वजनिक गरिएको छ ।
केपीले नै यातायात समिति खारेज गरे । तर, समितिको नाममा भएको चल अचल सम्पत्ति फुक्का गर्ने पनि उनी नै हुन् । ४१ महिना प्रधानमन्त्री हुँदा पनि उनले हरियो र कालो प्लेटको ट्याक्सीको नयाँ दर्ता खोलेनन् । तीन दशकदेखि दर्ता बन्द भएको ट्याक्सीको नयाँ दर्ता खोल्न कुनै चासो देखाएनन् । बूढाबूढीलाई पाँच हजार भत्ता पुर्याउनु भनेको त्यो पनि घोषणापत्रमै सीमित बन्यो । स्थानीय सरकारमा आएपछि वडाध्यक्ष र मेयरले सबैभन्दा धेरै भ्रष्ट्राचार गरेका छन् ।
आगामी वैशाख ३० गते हुने चुनावमा पार्टीले यिनलाई फेरि पनि टिकट देलान् । तर, जनताले यिनीहरूलाई त नङगाइदिन्छन् । अहिलेका मेयर र वडाध्यक्षलाई जनताले कुनै पनि हालतमा मत दिनेवाला छैन । स्थानीय सरकारमा आएपछि तलब भत्ता खाने र सरकारी गाडी चढ्नेबाहेक अरू केही काम यिनीहरुद्धारा भएको छैन । पछिल्लो समय केपीले देखाएको फुर्ती र नचाहिँदो दाबीको जवाफ फर्काउन जनताहरू तम्तयार भइसकेका छन् । एमालेबाट आएका जनप्रतिनिधिहरूको काम गर्ने क्षमता जनताले देखिसकेका छन् । केपीको खोक्रो भाषणले अब केही जादु देखाउने वाला छैन । अन्य राजनीतिक दल पनि उही ड्याङका मुला हुन् ।
यो लेखकको नीजि विचार हो ।