कैलाली, २८ पुस । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
भारतबाट नेपाल भित्रनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार तीन दिनमा ४६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार ४४४ व्यक्ति नेपाल भित्रिएका छन् ।
कोरोना संक्रमित आठ व्यक्तिको नमुना संकलन गरी थप परीक्षणका निम्ति क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।
गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले कोरोनाभाइरसका संक्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिए ।
उनले संक्रमितलाई होम आइसोलेसनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दिइएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए ।









