काठमाडौं, ३ भदाै । सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।
आज आइतवारकाे बैठकमा सरकार र प्रतिपक्षी दल दुवैले आफ्ना अडान नछाडेपछि कुनै निष्कर्ष ननिस्किएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको साढे ६० किलो सुन राजस्व अनुसन्धान विभागले गएको साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । त्यही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ ।
सरकार र सत्ता गठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । गएको साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । त्यही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।











