काठमाडौं, पुष १६ । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको भन्दै तत्काल महत्वपूर्ण कदम चाल्न सुझाव दिएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बैक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी १ अंक कायम गरिनुपर्नेदेखि लिएर स–साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरिनुपर्नेलगायत विभिन्न ११ बुँदे सुझाव सार्वजनिक गरेको हो । महासंघले राष्ट्रलाई समुन्नत बनाउनका लागि स–साना व्यवसायीहरुको संरक्षण गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । महासंघको बैठकका धारणा सार्वजनिक गर्दै महासंघका संयोजक जितेन्द्र दाहालले अहिले देश रेमिट्यान्सको भरमा रहेकाले उत्पादन क्षेत्रमा युवाहरुको आकार्षणका लागि सरकारले ध्यान दिने बेला आएको बताउनुभयो ।
उहाले अहिले सत्ताको वरिपरी रहेका सीमित व्यवसायीको भलाइका लागि नेपालको उत्पादन निषेध गरिएको आरोप लगाउनुभयो । यही अवस्था कायमै रहे नेपालको अर्थतन्त्र दलालहरुको हातमा जाने उहाको भनाइ छ ।











