काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन्। उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ।
बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्। छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सरकारले मल कारखाना खोल्न चाँडै प्रस्ताव आह्वान गर्ने जानकारी दिएको बताए।
रासायनिक मल कारखाना खोल्नेलगायत विद्युत् खपत बढाउने आयोजना तथा योजनामा सरकारले आवश्यक सहुलियत दिने योजनाबारे पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए।
वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। त्यसका लागि नीतिगत, कानुनी तथा भन्सार सुधारका काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
विगतका सरकारले बजेटमै मल कारखाना स्थापनाका लागि रकम विनियोजन गरे पनि कारखाना स्थापना हुन सकेको छैन। प्रधानमन्त्री शाहले पनि मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले बाढी–पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदहरूको भूमिका तथा सरकारसँग सांसदहरूले गर्न सक्ने समन्वयबारे धारणा राख्दै औद्योगिकीकरणका लागि सरकारले के गर्नुपर्छ भन्ने विषयमा ठोस सुझाव दिन सांसदहरूलाई आग्रह गरेका थिए।
कुनै नयाँ योजना वा नीतिसम्बन्धी सुझाव भए सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासनसमेत शाहले दिएका थिए।
साथै, उनले विद्युत् उत्पादनसँगै विद्युत् खपत बढाउने विषयमा सरकारको ध्यान रहेको जानकारी गराएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार प्रधानमन्त्री शाह सिभिल तथा स्ट्रक्चर









