विपद् पीडितका लागि सबै सांसदले ५०/५० हजार जम्मा गरेर कोष बनाउन हर्कराज राईको प्रस्ताव

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले देशमा भइरहेका प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सबै सांसदहरूले आफ्नो पारिश्रमिकबाट ५०/५० हजार रुपैयाँ योगदान गर्नुपर्ने विशेष प्रस्ताव अघि सारेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले जननिर्वाचित प्रतिनिधिहरू नागरिकको दुःखमा सारथी बन्नुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका हुन् । पछिल्लो समय देशका विभिन्न भागमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप र सडक दुर्घटनाका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो धनजनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले राहतका लागि सांसदहरूले नै अग्रसरता देखाउनुपर्ने बताए ।

‘देशमा प्राकृतिक विपत्ति र ठुला दुर्घटनाहरू भइरहेका छन्, जसले धेरै नागरिकलाई पीडा दिएको छ,’ सांसद राईले भने, ‘ती पीडितहरूको घाउमा मलम लगाउन र तत्काल राहत उपलब्ध गराउन हामी सबै २७५ जना सांसदहरूले आफ्नो पारिश्रमिकबाट ५०/५० हजार रुपैयाँका दरले जम्मा गरेर एउटा छुट्टै राहत कोष बनाऔँ।’

सांसद राईले यस्तो कोषले विपद्को समयमा सरकारको मुख मात्र ताक्नुपर्ने अवस्थाको अन्त्य गर्ने र जनप्रतिनिधिहरू जनताप्रति कति संवेदनशील छन् भन्ने कुराको पुष्टि गर्ने समेत दाबी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्