काठमाडौं। ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ४० वर्षीया जेनिशा लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १९ जनामध्ये १० जनाको बी एण्ड बी अस्पताल र ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अधिकांशको अवस्था सामान्य रहे पनि केही घाइतेको अवस्था गम्भीर छ। सहचालक ६० वर्षीय कृष्णराम थापाको बायाँ खुट्टा भाँचिएको छ भने २३ वर्षीया सुन्निमा योन्जनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको छ।
प्रहरीले बस चालक काभ्रेको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्दै आएका ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।










