फुर्केखोलाको पुल निर्माणबारे ज्ञापनपत्र बुझाउन पुगेका पूर्वमुख्यमन्त्री पाण्डेसहितको टोली मन्त्रीलाई नभेटी फर्कियो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । धादिङको फुर्केखोलामा बाढीले बगाएको पक्की पुल पुनर्निर्माणको माग गर्दै पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका पूर्वजनप्रतिनिधिहरू रित्तो हात फर्किएका छन्।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा पुगेको टोलीले मन्त्रीसँग भेट्न नपाएपछि ज्ञापनपत्रसमेत बुझाउन सकेन।

पूर्वमुख्यमन्त्री पाण्डेका अनुसार मन्त्रीसँग भेटघाटका लागि सोमबार नै मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेसँग समन्वय गरी मंगलबार बिहान ११ः३० देखि १२ बजेसम्मको समय निर्धारण गरिएको थियो।

निर्धारित समयमै मन्त्रालय पुगेका पूर्वजनप्रतिनिधिहरूलाई मन्त्रीका सल्लाहकारले स्वकीय सचिव प्रतीक श्रेष्ठलाई जानकारी गराइसकेको भन्दै मन्त्रीको कार्यकक्षतर्फ पठाएका थिए। तर, स्वकीय सचिव श्रेष्ठले मन्त्रीसँग भेट्ने समय नै नलिएको भन्दै आफूहरूलाई फर्काएको पाण्डेको भनाइ छ।

‘मन्त्रीज्यू अहिले हुनुहुन्न, गइसक्नुभयो’ भन्दै ठाडो जवाफ दिइएको उनले बताएका छन्।

गत भदौ १० गते आएको बाढीले धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि धादिङका आठवटा स्थानीय तह तथा गोरखाका नागरिकलाई काठमाडौंलगायत अन्य स्थानमा आवतजावत गर्न कठिनाइ भइरहेको छ।

सोही समस्याको समाधानका लागि धादिङका पूर्वसांसद तथा पूर्वजनप्रतिनिधिहरू ज्ञापनपत्र बोकेर मन्त्रालय पुगेका थिए। तर, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मन्त्रालय परिसरमै कुरेर बस्दा पनि मन्त्रीसँग भेट हुन नसकेपछि टोली ज्ञापनपत्र नबुझाई सिंहदरबारबाट बाहिरिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्