महाअभियोगमा हतारिँदैन प्रतिपक्ष, सत्तापक्षको निर्णय र तयारी हेरेर मात्रै साझा धारणा बनाउने भीष्मराज आङ्देम्बेको संकेत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल धारणा नबनाउने बताएका छन् । सत्तापक्षको धारणा, तयारी र प्रस्तुतिलाई हेरेपछि मात्रै प्रतिपक्षी दलहरूबीच छलफल गरेर साझा धारणा तय गरिने उनको भनाइ छ ।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङ्देम्बेले महाअभियोग लगाउने विषयमा सत्तापक्षभित्रै स्पष्ट निर्णय भइनसकेको बताए । सत्तापक्षले यो विषयलाई कसरी अघि बढाउँछ भन्ने कुरा आफूहरूले नजिकबाट हेरिरहेको उनले उल्लेख गरे ।

महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीभित्र पर्याप्त छलफल र स्पष्ट सहमति आवश्यक रहेको उनको भनाइ छ । पार्टीले एउटा धारणा बनाउने तर संसदीय दल अर्कै दिशामा अघि बढ्ने अवस्था उचित नहुने उनले बताए ।

त्यस्तै, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको निर्देशन संसदीय दलले पालना गरिरहेको छ कि छैन भन्ने विषयमा समेत आफूहरू स्पष्ट नरहेको आङ्देम्बेले टिप्पणी गरे ।

रास्वपा विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि मात्रै प्रतिपक्षी दलहरू पुनः बसेर साझा निर्णयमा पुग्ने उनले बताए । साझा धारणा बनेपछि सकारात्मक काममा भने प्रतिपक्षी दलहरूले सहयोग गर्ने उनको स्पष्टोक्ति छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्