सरकारमाथि शंकर पोखरेलको कडा प्रहार, लोकतन्त्र र संविधान कमजोर पारिएको आरोप

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरू अत्यन्त संयमित र उत्तरदायी हुनुपर्नेमा सामाजिक सञ्जालमा भइरहेका गतिविधिले राज्यको जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटीजस्तो बनाइएको उनको टिप्पणी छ ।

इनाम सापकोटातर्फ लक्षित गर्दै पोखरेलले चुनावी प्रचारका क्रममा प्रधानमन्त्रीसँगै रहेका र चुनाव जिताउने अभियानमा खटिएका व्यक्तिको गतिविधिलाई लिएर प्रधानमन्त्रीले नै समाजका विभिन्न अङ्गलाई प्रभावित वा नियन्त्रण गर्न परिचालन गर्न खोजेको हो कि भन्ने आशङ्का पैदा भएको बताए ।

महासचिव पोखरेलले सरकारका गतिविधिप्रति स्वयं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गरे ।

जनताले ठूलो अपेक्षासहित दिएको जनादेशविपरीत देशको अवस्था नकारात्मक दिशातर्फ गइरहेको भन्दै उनले त्यसलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्