काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बिहीबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी कार्यालय समयभित्रै सिंहदरबार पुगेका हुन्। यद्यपि, आज मन्त्रिपरिषद्को बैठक बस्ने वा नबस्ने भन्ने विषयमा भने टुङ्गो लागेको छैन।
बुधबार प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच लामिछानेको बुढानीलकण्ठस्थित निवासमा लामो छलफल भएको थियो। छलफलमा सरकारका कामकारबाही, पार्टीका गतिविधि, निजामती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सांसद खगेन्द्र सुनारमाथि उठेका प्रश्नलगायत विषयमा कुराकानी भएको बताइएको छ।
यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार दिउँसो उच्च प्रहरी अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन्। प्रहरी प्रधान कार्यालयमा हुने पीसीसी बैठकका लागि सातै प्रदेशका डीआईजीलाई समेत बोलाइएको छ।










