अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन पाइने

खबर बुक
  • ख-
  • ख
  • ख+

अब अन्य जिल्लाका नागरिकले पनि काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन पाउने, प्रदेशअनुसार तीन जिल्ला प्रशासन कार्यालय तोकिए

काठमाडौं । अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। सेवा प्रवाहलाई सहज र सरल बनाउने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरिएको हो।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिएको छ।

गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जारी सूचनाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका नागरिकले सेवा पाउनेछन्।

आगलागीमा परी नागरिकता नष्ट भएको, पानीले भिजेर प्रयोग गर्न नमिल्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन्।

नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ।

तर, अभिलेख फेला नपरेको, अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन खोजेको अथवा पहिलो दृष्टिमै नागरिकता शंकास्पद देखिएको अवस्थामा भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

नयाँ व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नो स्थायी ठेगाना भएको जिल्ला पुग्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्