१९ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरको नयाँ सिरिजको ‘एटीआर–७२–६००’ जहाजले शुक्रबारदेखि व्यावसायिक उडान सुरु गरेको छ।
दर्ता नम्बर ‘९एन–एओएस’ रहेको उक्त जहाजले शुक्रबार बिहान काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान गरेको हो। ६६ यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौंबाट नेपालगञ्जका लागि उडेको थियो।
बुद्ध एयरले उक्त जहाज २५ जुलाई २०२६ मा फ्रान्सको टुलुसबाट नेपाल ल्याएको हो। नेपाल ल्याएपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्नुका साथै रङरोगनलगायतका काम सम्पन्न गर्न करिब एक महिना लागेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एटीआर–७२–६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रणालीले सुसज्जित छ।
क्षेत्रीय उडानका लागि प्रयोग हुने एटीआर–७२–६०० सिरिजका जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छन्। जहाजमा आरएनपी–एआर नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ, जसले निर्धारित मापदण्ड र प्रक्रियाअनुसार कम भिजिबिलिटीमा समेत उडान तथा अवतरणलाई सहज बनाउने कम्पनीले जनाएको छ।
नयाँ जहाजमा यात्रु सिट तथा ओभरहेड बिन पहिलेको सिरिजका जहाजको तुलनामा ठूलो रहेको छ। जहाजभित्रको बनावटमा सुधार गरिएकाले ध्वनि प्रदूषणसमेत अघिल्लो सिरिजको तुलनामा कम हुने कम्पनीको दाबी छ।
बुद्ध एयरले केही समयभित्र थप एउटा एटीआर–७२–६०० सिरिजको जहाज भित्र्याउने तयारी गरेको छ। हाल बुद्धसँग १४ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० जहाज रहेका छन्।
कम्पनीले पछिल्लो पटक दुई वटा ‘एटीआर–४२–३२०’ जहाजलाई उडानबाट बिदा गरिसकेको छ। त्यस्तै, एउटा एटीआर–४२–३२० जहाज कम उडान साइकल बाँकी रहेकाले पार्ट आउटका लागि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरिएको थियो।
हवाई सेवा थप सहज र सरल बनाउने प्रतिबद्धताअनुसार आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरिएको बुद्ध एयरले जनाएको छ। नयाँ जहाज थपिएसँगै उडान तथा मर्मत तालिकालाई थप सुदृढ बनाउने कम्पनीको भनाइ छ।
बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक १ सय ४० भन्दा बढी उडान–अवतरण गर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा सातामा तीन दिन र कोलकातामा सातामा चार दिन उडान गर्दै आएको छ। यस्तै, पोखराबाट भैरहवा तथा नेपालगञ्जमा पनि उडान सञ्चालन गरिरहेको छ।









