चमेलिया नदी पहिरोले थुनियो, भटारका १५ परिवार उच्च जोखिममा

खबर बुक
  • ख-
  • ख+

धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा गएको ठूलो पहिरोले चमेलिया नदी थुनिएको छ।

निरन्तरको वर्षासँगै आएको पहिरोले नदीको बहाव करिब आधा घण्टा पूर्ण रूपमा रोकिएको हो।

पहिरोका कारण नदीको बहाव रोकिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोले स्थानीयको खेतीयोग्य जमिन बगाएको छ भने बस्तीसमेत जोखिममा परेको छ।

हाल नदीले पहिरो कटान गर्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए। तर, वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको उनले बताए।

जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय तथा उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको छ।

‘घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी पुगेका छन्,’ अध्यक्ष बोहराले भने, ‘थप क्षति हुन नदिन तथा उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।’

अध्यक्ष बोहराका अनुसार यही स्थानमा तीन–चार वर्षअघि पनि पहिरो गएको थियो। तर, यसपटकको पहिरो विगतको भन्दा निकै ठूलो रहेको स्थानीयले बताएका छन्।

वर्षा जारी रहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्