१८ भदौ, काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई नि:सर्त साथ दिन आफूहरू तयार रहेको पनि बताए ।
‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहान्छौँ । यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौं । अहिले पनि धेरै नागरिक उद्धारको लागि गुहार गरिरहनुभएको छ,’ उनले भने ।
जलविद्युत् आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।
प्रमुख सचेतक महरले आफ्नो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।
‘निर्माणाधीन जलविद्युत् आयोजनाहरूका टनेलहरूमा फसिरहनुभएको अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उहाँहरूको छिटोभन्दा छिटो उद्धार गरियोस्,’ उनले भने, ‘मेरो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरहरू समेत यो आयोजनामा फसेका छन् । उहाँहरूको अवस्था अझै पनि अज्ञात रहेको छ । उनीहरूको खोजिमा समेत सरकारले ध्यान देओस् ।’










