१६ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डले सन् २०२४ मा ११ लाख ४० हजार बढी पर्यटकले नेपाल घुमफिर गरेको विवरण सार्वजनिक गरेको छ। बोर्डले आज बिहानसम्मको तथ्यांक समेटेर प्रकाशित गरेको विवरणअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल घुमफिरमा आएका हुन्।
सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएको तथ्यांक बोर्डसँग छ। कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ठप्प थियो ।
राष्ट्रसंघीय विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)को पछिल्लो ६ महिने तथ्यांकअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ।
बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको जानकारी दिए। सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको उनले बताए।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’का साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमन बढेको लामिछानेको अनुमान छ।











