७ पुस, काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ६० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि रकम उठाउन लागेको हो।
राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी पुस २८ गते तोकिएको छ। यसको ब्याजदरसमेत बोलकबोल माध्यमबाट हुने भएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्नेछ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।











