३ पुस, काठमाडौं । सरकारले विद्युत् उत्पादन र वितरण लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई अघि सारेसँगै प्रसारण लाइन निर्माणले गति लिने निश्चित छ। शताब्दी लामो नेपाल विद्युत् प्राधिकरणको एकाधिकार तोड्दै मंगलबारबाट औपचारिक रुपमा निजी क्षेत्रसँग सहकार्यका लागि सम्झौता भएको हो।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ५ जलविद्युत् आयोजनाबीच प्रसारण लाइन निर्माणको सम्झौता गरेका छन्।
नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ १९६८ वैशाखमा निर्माण सुरु भएर ४ वर्ष अर्थात् १९७२ मा सम्पन्न भएको थियो। सोही समयदेखि नेपालमा प्रसारण लाइन निर्माण सुरु भए पनि हालसम्म सरकारी अड्डा विद्युत् प्राधिकरणको मात्रै एकाधिकार थियो। विद्युत् उत्पादनमा निजी क्षेत्र प्रवेश भए पनि अन्य काममा समावेश हुन सकेका थिएनन्।
मंगलबार भएको औपचारिक प्रवेशले समग्र जलविद्युत् क्षेत्रकै लागि ‘माइलस्टोन’ (कोसेढुंगा) भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ बताउँछन्। उनी भन्छन्, ‘पहिला नै यो सम्झौता भएको भए प्राधिकरणको खर्च प्रसारण लाइनमा हुँदैन थियो।’
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको प्रवेशसँगै ठूला आयोजना बनाउन लागत पनि सोहीअनुसार जुट्ने हुँदा प्राधिकरणले हाल खर्चिंदै आएको रकमले थप विद्युत् पूर्वाधार निर्माणमा सघाउनेछ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि ७ खर्ब रुपैयाँ लागत बराबरको प्रसारण लाइन निर्माण गर्नुपर्ने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्याकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवाली बताउँछन्।











