काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि दुई खेल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , २४ मंसिर । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसी र भारतको क्यालीकट हिरोजबीच प्रतिस्पर्धा हुनेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ। आफ्नो पहिलो खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–२ ले हराएको एचडीसी हिजो भएको दोस्रो खेलमा इरानको युवा टोलीसँग ३–२ को रोमाञ्चक सेटमा पराजित भएको थियो।

एचडीसी दोस्रो जित हात पार्ने लक्ष्यमा रहँदा क्यालीकट पहिलो जितको खोजीमा हुनेछ। क्यालीकट आफ्नो पहिलो खेलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ५ सेटमा पराजित भएको थियो।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल र इरानको युवा टोली प्रतिस्पर्धा गर्दैछन्।

लगातार २ खेल हारेको गण्डकी पहिलो जितको खोजीमा हुनेछ। यसअघि उ एचडिसीसँग ५ सेटमा पराजित भएको थियो भने हिजो हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–१ को हार ब्यहोरेको थियो।

हेल्प नेपाल आठौँ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले प्रतियोगितामा छनोट भएका हुन् ।

प्रतियोगितामा भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडीसीको सहभागिता छ । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् । सिंगल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

जहाँ लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्