२३ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका दुई खेलाडीलाई मासिक १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो ।
मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउने छन् । मंसिर १ गतेदेखि लागू हुने गरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको उनले बताए ।
सम्झौता भएसँगै एमबी ग्रुपले एक वर्षसम्म दीपक र अनुलाई मासिक १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्ने छ । दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् ।











