काठमाडौं, मंसिर १२ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज अनुमति र रोकिएको प्रारम्भिक निष्कासन (आईपीओ) प्रक्रिया छिट्टै थालिने बताएका छन्।
बुधबार सातदोबाटोस्थित बोर्ड कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको र आईपीओ निष्कासन प्रक्रिया अवरुद्ध रहेकाले त्यसलाई तत्कालै अगाडि बढाइने जानकारी दिएका हुन्।
श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धारणा व्यक्त गरे। ‘धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारी पाएको छु। बोर्डमा ठूला जिम्मेवारी र चुनौती छन्। पुँजीबजारका समस्या अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले समाधान गर्छु। पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ’, उनले भने।
बोर्डमा नेतृत्व अभावमा अड्किएका काम अगाडि बढाइने उनले बताए। नयाँ स्टक एक्सचेन्ज अनुमति प्रक्रियामा सरकारको नीति निर्देशन जे हुन्छ, त्यहीँअनुसार अगाडि बढ्ने उनले दाबी गरे।
पुँजीबजारको विकासमा सरोकारवाला निकायले सहकार्य गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। ‘स्थायी नेतृत्व नहुँदा आईपीओ रोकिएको थियो, त्यो समस्या समाधान हुँदै जान्छ। पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्छ। लगानीकर्ताको सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने।











