अदालतद्वारा जोनी डीप निर्दोष ठहर, १५ मिलियन क्षतिपूर्ति भराउन पूर्वपत्नीलाई आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । पूर्वपत्नी तथा हलिउड अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा हिंसाको एक बहुचर्चित मुद्दामा अदालतले अभिनेता तथा पति जोनी डीपको पक्षमा फैसला सुनाएको छ ।

६ सातादेखि लगातार चलिरहेको अदालती सुनुवाइलाई लिएर विश्वको ध्यान यो हाइप्रोफाइल मुद्दातर्फ केन्द्रित थियो । भर्जिनिया अदालतका न्यायाधीशहरूले अभिनेता डीपलाई १५ मिलियन डलरको क्षतिपूर्ति भर्नसमेत हर्डलाई आदेश दिएका छन् ।

 

आफू घरेलु हिंसाबाट पीडित भएको भन्दै अभिनेत्री हर्डले द वासिङ्टन पोस्ट अखबारमा एक विचार कोलम लेख्दै मुख्य तीन आरोपहरु डीपविरुद्ध लगाएकी थिइन् ।

घरमा आफूलाई शारीरिक र मानसिक यातना दिएको, सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेकोजस्ता आरोप लगाउँदै एम्बरले अदालतमा उजुरी दायर गरेकी थिइन् । न्यूयोर्क टाइम्सका अनुसार न्यायाधीशको सात सदस्यीय बेन्चले यो मुद्दामा अभिनेता डीप निर्दोष रहेको ठहर गरेको हो ।

अदालती सुनुवाइमा डीपले पूर्वपत्नीले आफूविरुद्ध लगाएका सबै घरेलु हिंसाका आरोपलाई अस्वीकार गरेका थिए । अदालतको फैसला लगत्तै डीपले विज्ञप्ति जारी गर्दै न्यायाधीश र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । ‘अदालतको फैसलाले मेरो जीवन फर्किएको छ’ उनले लेखेका छन् ।

अदालतको फैसलापछि भने अभिनेत्री हर्डले आफू शब्दविहीन र स्तब्ध भएको बताएकी छन् । ‘म दुःखी छु कि मेरा पर्याप्त प्रमाणहरु मेरो पूर्वपतिको असमान शक्ति, प्रभाव र त्यसको सामना गर्न पर्याप्त थिएन’ हर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डीप र हर्ड दुवै हलिउड स्टारहरू हुन् । यी दुवैका फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो कमाइ गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्