३ मंसिर, काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलनमा कमी आएको बताए ।
चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको बताए ।
चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।
कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व संकलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजार रुपैयाँले राजस्व संकलनमा कमी आएको छ ।