काठमाडौं,कार्तिक २० । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। तिहार बिदापछि मंगलबार खुलेको बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन कात्तिक १४ गते पनि नेप्से १४.४३ अंकले घटेर २६७७.६२ बिन्दुमा रोकिएको थियो। मंगलबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन अर्थात् कात्तिक १४ गते बुधबार भने नेप्सेमा ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। मंगलबार सुपर माई हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा समाज लघुवित्तको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ।
यस्तै, आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। मंगलबार फाइनान्स समूहको सेयर मूल्य ०.२० प्रतिशत, होटल तथा पर्यटन समूहको सेयर मूल्य ०.८२ प्रतिशत, जलविद्युत समूहको सेयर मूल्य ०.७७ प्रतिशत, जीवन बिमा समूहको सेयर मूल्य ०.३९ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.०६ प्रतिशतले बढेको छ।
बैंकिङ समूहको सेयर मूल्य ०.८१ प्रतिशतले घट्दा विकास बैंक समूहको सेयर मूल्य ०.४८ प्रतिशत, लगानी समूहको ०.०४ प्रतिशत र उत्पादन समूहको ०.०७ प्रतिशतले घटेको छ।











