रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढ्यो, विभागले दियो आइइई अनुमति

खबर बुक
  • ख-
  • ख
  • ख+

६ कात्तिक, काठमाडौं ।रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा निर्माण गर्न लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ।

काठमाडौंमा गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सम्झौतामा हस्ताक्षर भएको थियो। 

विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने रारा रिसोर्टको निर्माण तथा सञ्चालन गर्ने प्रयोजनार्थ वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम पेस गरेको प्रारम्भिक वातावरणीय अध्ययन आइइईको प्रतिवेदन स्वीकृत गरेको जनाएको छ।

विभागले आइइई अनुमति दिएसँगै रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको हो। विभागले वातावरणीय अध्ययन स्वमूल्यांकन ६–६ महिनामा पेस गर्नुपर्ने उल्लेख छ।

मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा ७० करोड लगानी हुनेछ। रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली ढाँचामा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाहले बताए। शाहका अनुसार अब छिट्टै रिसोर्टको औपचारिक शिलान्यास गर्दै निर्माणलाई तीव्रता दिइनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्