१७ असोज, काठमाडौं ।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनी मार्गर्शन २०८१/८२ ले नसमेटेर व्यवसायीले भुक्तानी पाउन वञ्चित भएको विषयमा सरकारको जानकार रहेको बताएका छन्।
बुधबार नेपाल निर्माण व्यवसायी महासंघले बुझाएको भुक्तानीसहितका विभिन्न मागको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले मार्गदर्शनले नसेमटेर भुक्तानीबाट वञ्चित भएको अवस्थालाई सरकारले वैकल्पिक व्यवस्था गर्ने बताएका हुन्।
बजेट मार्गदर्शनको बुँदा ५० मा अघिल्लो आर्थिक वर्ष भुक्तानी दायित्व सिर्जना भएर बसेका आयोजनामा चालू वर्ष सोही शिर्षकमा विनियोजन भएको बजेटबाट भुक्तानी दिन मिल्ने व्यवस्था गरेको छ। तर, चालू वर्ष बजेट शीर्षक नै नभएका वा सोही शिर्षकमा बजेट विनियोजन नभएको र थोरै बजेट विनियोजन भई भुक्तानी गर्न अपुग भएमा के गर्ने ? उल्लेख छैन। जसका कारण व्यवसायी भुक्तानी पाउन सकेको छैनन्।
‘भुक्तानी गर्नुपर्ने रकम धेरै र विनियोजित बजेट थोरै भएको विषयमा प्रबन्ध गर्नुपर्छ, त्यसतर्फ ध्यान गएको छ, पौडेलले भने। आर्थिक वर्ष २०८०/८१ मा निर्माण व्यवसायीलाई सरकारले पुरै भुक्तानी दिन नसकेको पनि उनले स्वीकारेका छन्। महासंघले २०८१ असारमा १५ अर्ब मात्रै भुक्तानी पाएको बताइरहँदा मन्त्री पौडेलले करिब २० अर्ब रुपैयाँ भुक्तानी दिएको दाबी गरे।
‘व्यवसायीले १५ अर्ब मात्रै भन्नुहुन्छ तर, हामीले २० अर्ब भुक्तानी भएको पाएका छौं,’ उपप्रधानमन्त्री पौडेलले छलफलमा भने, ‘त्यो २० अर्बबाट व्यवसायीको भुक्तानी पूरै नसकिएको मलाई थाहा छ, सम्पन्न भएका कामको पैसा दिन सरकार लागिरहेको छ।’











