मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती प्रदेशसंगको खेल टाई भएपनि मधेश ३ खेलबाट पाँच अंक जोड्दै सेमिफाइनलमा पुगेको हो । बागमती भने यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेको छ ।
आज किर्तिपुरस्थीत त्रिवि मैदानमा भएको खेलमा मधेशले दिएको १९१ रनको लक्ष्य पन्छाएको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएपछि खेल टाई भएको हो ।
खेल टाई भएपछि दुबै टोलीले एक एक अंक बाँडेका हुन् । बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४०, रित गौतमले ३२, ईसान पाण्डेले ३१, सुर्य तामांगले २८, विवेक मगरले २५ रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ मधेश ४६.२ ओभरमा १९० रनमा अलआउट भयो । जसमा रोहन विकले सर्वाधिक ६३ रन बनाए ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकाल्यो । कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमको यो सान्त्वना जित हो । कर्णालीको यो लगातार तेस्रो हार हो ।