९ असोज, काठमाडौं ।एसियाली विकास बैंक (एडीबी)ले नेपालको चालू वर्ष आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
गत आर्थिक वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धि भएकाे राष्ट्रिय तथ्यांक कार्यालयकाे अनुमान छ।
चालू वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ। चालू वर्षको बजेट सार्वजनिक भएपछि दातृ निकायले आर्थिक वृद्धिको प्रक्षेपण गरेको यो पहिलो हो। एडिबीले मूल्यवृद्धि दर पनि ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
वर्ष २०२३/२४ मा नेपालको मूल्यवृद्धिदर ५.४ प्रतिशत रहेको एडिबीको ठम्याइ छ। एडिबीले आफ्नो तथ्यांकमा चालू खाता घाटा चालू वर्ष ऋणात्मक हुने प्रक्षेपण गरेको छ, जबकि आर्थिक वर्ष सन् २०२३/२४ मा ३.९ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा धनात्मक रहेको चालू खाता बचत अर्को वर्ष ०.४ प्रतिशतले ऋणात्मक हुने अनुमान सार्वजनिक गरेको हो।
सरकारले चालू वर्ष २०८१/८२ को मुद्रास्फीति ५.५ प्रतिशतको अनुमान गरेको छ भने राष्ट्र बैंकले त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको छ।











