स्टन्टमा विश्वास गर्दिन, नजितामा विश्वास गर्छु : मन्त्री दाहाल

खबर बुक
  • ख-
  • ख
  • ख+

८ असोज, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले मन्त्रालयका सचिव केशवप्रसाद शर्मासँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन्। सोमबार मन्त्रालयमा मन्त्री र सचिवबीच चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो। यसअघि मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेका थिए।

मन्त्री दाहाल र सचिव शर्माबीच सम्झौता भएसँगै सचिव र महाशाखा प्रमुख एवं विभागीय प्रमुखबीचसमेत सम्झौता भएको छ। प्रशासन महाशाखा प्रमुख, सहसचिव चन्द्रकला पौडेल, पूर्वाधार निर्माण तथा यातायात महाशाखा, प्रमुख सहसचिव कृष्णराज पन्थ, योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख सहसचिव सुशिलबाबु ढकाल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख भिमार्जुन अधिकारी, सडक विभाग महानिर्देशक रामहरी पोखरेल, यातायात व्यवस्थापन विभाग महानिर्देशक राजिव पोखरेल, रेल विभाग महानिर्देशक अजयकुमार मुल र नेपाल पानी जहाज कार्यालयका रजिष्ट्रार प्रेमकुमार सिंह तथा सचिव शर्मा विच कार्य सम्पादन सम्झौता भएको हो।

कार्य सम्पादन सम्झौता पछि मन्त्री दाहालले नतिजामूखी भएर कार्य सम्पादन गर्न निर्देशन दिए। ‘म स्टन्टमा विश्वास गर्दिन, नजितामा विश्वास गर्छु,’ कर्मचारीलाई निर्देशन दिँदै मन्त्री दाहालले भने, ‘तपाईंले पनि सोहि ढंगबाट नतिजा देखिन गरी कार्यसम्पादन गर्नु हुने छ भन्ने विश्वास छ।’

तत्काल गर्नु पर्ने र नागरिकलाई राहत महसुस हुने कामहरुलाई प्राथमिकता दिन भन्दै उनले अहिले चाडपर्वको समय सुरु भएकाले सडकको सहज व्यवस्थापनमा ध्यान दिन भने। 

यस्तै सवारी चालक अनुमति पत्र वितरणमा देखिएको समस्या समाधान गर्न, पूर्वाधार निर्माणमा देखिको सुस्तताको अन्त्य गर्न उनले कर्मचारीलाई निर्देशन दिए। नागरिकलाई सहज हुनेगरि सेवा दिन तथा पूर्वाधार निर्माणलाई गति दिन केही चुनौती भए पनि ति चुनौतीको सामना गर्न पनि तयार हुनु पर्ने उनको भनाइ छ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्