प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ।
टियु क्रिकेट मैदानमा शुक्रबार सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो । सुदुरपश्चिमका लागि बसन्त खत्रीले २५ रन जोडे । नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । बसन्त कार्की १४ तथा मिलन बोहरा १२ रनमा आउट भए । आर्मीका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । बिक्रम सोब र शादब खानले २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे । जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । लगातार तेस्रो हार व्यहोरेको सुदुरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ ।
त्यस्तै अकोर्् खेलमा विभागीय टोली एपीएफ र गण्डकी प्रदेशबीचको खेल भने टाइ भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको एपीएफ र गण्डकीबीचको रोमान्चक खेल टाइ भएको हो । खेल टाइ भएसँगै एपीएफ र गण्डकीले एक एक अंक बाडेका छन् । एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो । गण्डकीका लागि अविशेक बस्नेतले २४ रन बनाए । अर्जुन कुमालले १८ रन जोड्दा कप्तान विपिन खत्रीले १७ रन बनाए । कमल परियार ११ रनमा आउट भए । एपीएफका मौषम ढकाल र किशोर महतोले ४÷४ विकेट लिए । भुवन कार्कीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो। एपीएफलाई सस्तैमा समेट्न गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३÷३ विकेट लिए । सुबाश भण्डारीले २ विकेट लिए । यस खेलपछि समूह ए मा रहेको एपीएफले ३ खेलमा ५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।











