काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका व्यवसायी दीपक खड्काले ३ अर्ब लगानीमा बूढानीलकण्ठमा पाँचतारे होटल ‘होलिडे इन’ सञ्चालनमा ल्याएका छन्।
कोभिड र आर्थिक मन्दिको कारण निर्माण समय लम्बिएको सो होटलको व्यवस्थापन अमेरिकन चेन होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)ले लिएको छ। सो ग्रुपअन्तर्गतको होलिडे इनको ब्रान्डमा काठमाडौंमा होटल सञ्चालनमा आएको छ। होलिडे इन अमेरिकी आधारित मिडस्केल होटल चेन हो।
२०७८ बाट निर्माण सुरु भएको सो होटल गत जुलाई ११ (असार २७) बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो। डेढ महिना अघिबाटै औपचारिक रुपमा सुरुआत भए पनि होटल व्यवस्थापनले आधिकारीक सञ्चालनमा आएको घोषणा गरेको छैन।
होटलका एक उच्च व्यवस्थापकका अनुसार नेपाल हेर्ने क्षेत्रीय कार्यालय दुबईबाट सञ्चालनको औपचारिक घोषणाका लागि अनुमति आएको छैन। होटल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी चेनलाई दिएपछि उनीहरुले भनेअनुसार चल्नुपर्ने भएकाले नेपाली लगानीकर्ताले कुनै औपचारिक प्रतिक्रिया नदिएको ती व्यवस्थापकको भनाइ छ।

विश्वभर ६ हजार ५०० बढी होटल व्यवस्थापन गर्दै आएको होलिडे इन काठमाडौंमा पनि राम्रो बुकिङ रहेको जनाएको छ।
होटलमा फुड एन्ड बेभरेज सेवासाथै, क्यासिनो, स्विमिङ पुल, बैंक्वेट हल, रेस्टुरेन्ट, कन्फेरेन्स हल, स्पालगायत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलोमिटर दूरीको बूढानीलकण्ठको केन्द्रमा अवस्थित छ। बूढानीलकण्ठ आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउने गर्छन्।
१ लाख ४२ हजार ७८३ वर्गफिट क्षेत्रफलमा फैलिएको होटलमा १०२ कोठा छन। होटल परियोजना बनाउन २ अर्ब ९७ करोड १० लाख रुपैयाँ लगानी भएको छ। यसमध्ये २ अर्ब १३ करोड १० लाख रुपैयाँ बैंक ऋण र बाँकी ८४ करोड १० लाख स्वपुँजी (इक्विटी) लगानी रहेको छ।

होटलमा ७२ प्रतिशत बैंक ऋण र बाँकी २८ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) रहेको छ। सन १९९८ देखि पर्यटन क्षेत्रमा लागेका खड्काले ट्राभल तथा ट्रेकिङ कम्पनीसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन।
उनले ताप्लेजुङ र रसुवामा तीन वटा हाइड्रोपावर (जलविद्युत्) आयोजानामा लगानी विस्तार गरेका छन। चक्रपथबाट १० किलोमिटर बाहिर रहेको होलिडे इनबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ। साथै, त्यहाँ रहेको विपश्यना ध्यान केन्द्र आउनेलाई पनि खान–बस्न सहज हुनेछ।
बूढानीलकण्ठ मन्दिर दर्शन र गुम्बा घुम्न आउनेलाई पनि सहज हुनेन्छ। खड्का होटल फरेस्ट इन प्रालिका साथै मन्छियाम हाइड्रोपावरका अध्यक्षसमेत हुन्।













