५ भदौ, काठमाडौं ।वैदेशिक रोजगार विभागले युरोपका विभिन्न २८ देशमा रोजगारीका लागि ५० हजार बढी नेपाली पुगेको विवरण सार्वजनिक गरेको छ।
विभागले आर्थिक वर्ष २०८०/८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ नेपाली युरोपका विभिन्न देश गएको तथ्यांक सार्वजनिक गरेको हो।
यी सबै युरोपियन युनियन (ईयू) मा आबद्ध देश हुन्।
विभागका अनुसार साइप्रस, माल्टा, क्रोएसिया र रोमानियामा संस्थागत (मेनपावरमार्फत) समेत नेपाली गएका छन्। तीबाहेकका देशमा नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकले देखाएको छ।
विभागका अनुसार ३३ हजार ६४७ जना पहिलो पटक श्रम स्वीकृति लिएर युरोप गएका छन्। विगत केही वर्षयता रोजगारीका लागि युरोप जाने नेपालीको संख्या बढिरहेको छ।












