सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेको सन्दीपका अधिवक्ता सुधार रिजालले जानकारी दिनुभयो ।

बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेको अधिवक्ता रिजालले बताउनुभयो । बुधबारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्