निर्माण कम्पनीलाई कर्जा प्रवाहमा ‘क्रेडिट रेटिङ’ गर्नुपर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनका आधारका रुपमा लिनुपर्ने हुन्छ।

हाल ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था छ। राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा ५० करोड वा सोभन्दा बढीको कोषमा आधारित कर्जा र १ अर्ब वा सोभन्दा बढीको गैरकोषमा आधारित कर्जा उपयोग गर्ने ऋणीको पनि क्रेडिट रेटिङ अनिवार्य गरिएको छ।

एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले ऊर्जा बन्डलाई क्षेत्रगत कर्जाका रुपमा गणना गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ। ‘ऊर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीले जारी गरेका ऊर्जा बन्डलगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइनेछ’, संशोधित एकीकृत निर्देशनमा भनिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्