नेप्से ३२ अंक बढ्दा १४ अर्बमा खुम्चियो कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्यमा उच्च वृद्धि आएसँगै सेयर बजारमा उत्साह छाएको छ। निरन्तरको वृद्धिपछि बुधबार २७ अंकले घटेको नेप्से बिहीबार भने ३२ अंकले बढेर २५६८.११ बिन्दुमा रोकिएको छ।

नेपाल राष्ट्र बैंकले भोली शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने बजारमा हल्ला चलिरहेको छ। गत शुक्रबारै मौद्रिक नीति आउने हल्ला चले पनि नआएको र भोली शुक्रबार ल्याइने मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई पनि सेयर किन्न सहजीकर गर्ने, लघुवित्तमा रहेको १५ प्रतिशतको व्याजदर सीमा केही खुकुलो बनाउने, निर्माण क्षेत्रमा जाने कर्जालाई सरलीकृत  गर्ने र समग्रमा केही खुकुलो नीति अवलम्बन गरिने चर्चा छ।

त्यसैको स्वरुप निरन्तर सेयर बजारमा देखिएको छ। र, बजार बढ्दो क्रममा छ। पछिल्लो १९ कारोबार दिनमा मात्रै सेयरमा ५३१ अंकको वृद्धि देखिएको छ। यस अवधिमा जम्मा तीन दिन समान्य अंकले बजार घटेको थियो।

बिहीबार उपकार लघुवित्तको सेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ भने अन्य १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले बढेको छ। ९ प्रतिशतमाथि मूल्य बढेका १४ कम्पनीमध्ये १० वटा लघुवित्त  छन्।

१४३ कम्पनीको सेयर मूल्य बढेर ९६ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको बिहीबार कारोबार रकममा भने बुधबारको तुलनामा केही कम देखिएको छ। बुधबार १६ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार १४ अर्ब रुपैयाँमा सिमित भएको छ।

यद्यपि कारोबार समयमा तीव्र उचारचढाव देखिएको छ। न्यूनतम २५१८.४७ बिन्दुसम्म झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २५७२.८८ अंकसम्म चढेकोमा कारोबार बन्द हुँदा उच्च बिन्दुभन्दा केही तल रोकिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्