काठमाडौं। सेयर बजार २८ महिनापछि २५०० बिन्दु माथि उक्लिएको छ। सोमबार कारोबार सुरु भएको पहिलो ६ मिनेटमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०४.५३ बिन्दुमा पुगेको छ।
यसपछि, ११ बजेर १५ मिनेटमा नेप्से २४६१.९४ बिन्दुसम्म झरेर पुनः बढ्दै ११ बजेर २२ मिनेटमा २५०१.३० बिन्दुमा पुगेको छ। यसअघि नेप्से २०७८ चैत २० मा २५१३ बिन्दुमा पुगेको थियो।
सोमबार नेप्सेमा कारोबार सुरु भएको आधा घन्टामै २ अर्ब माथिको कारोबार भइसकेको छ। समाचार तयार पार्दासम्म कारोबारमा आएकामध्ये १३६ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको घटेको छ।
यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा पुगेको थियो। यस्तै, आइतबार नेप्सेमा कुल १५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।











