
काठमाडौं, कार्तिक १४
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामेछाने विरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ ।
जिलला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले आज काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिनुभयो । अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएको छ । जबर्जस्ती करणी मुद्दाको माग दाबी छ । १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको उहाँले बताउनुभयो ।
लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो ।