बैंक र कर्मचारीमाथिको आक्रमणविरुद्ध बैंकर एकजुट, सुरक्षा सुनिश्चितताको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अज्ञात व्यक्ति र समूहबाट निरन्तर आक्रमण हुन थालेपछि बैंकर एकजुट भएर त्यसविरुद्धमा आवाज उठाएका छन्। बैंक तथा वित्तीय संस्थाका चार वटै छाता संगठनहरूले सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै सुरक्षाको माग गरेका हुन्।

सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन, वित्त कम्पनी बैंकर्स एसोसिएशन र लघुवित्त वित्तीय संस्था बैंकर्स संघले सयुक्त विज्ञाप्ति जारी गर्दै विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने ति संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध जस्ता अराजक क्रियाकलापको भत्र्सना गरेका हुन्।

जारी विज्ञाप्तीमा भनिएको छ, ‘केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने ति संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्‍याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको हामीले पाएका छौं। यस प्रकारका अवाञ्छित गतिविधिलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहजरूपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिनका लागि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं।’

पछिल्लो समय लघुवित्त संस्थाहरूलाई अराजक व्यक्ति तथा समूहले थप लक्षित गरेको देखिएको उनीहरूको ठहर छ। विभिन्न लघुवित्त संस्थाहरूका केही शाखाहरूमा केही अप्रिय घटना भएको र कर्मचारीलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्नेलगायतका निन्दनीय कार्य भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

ग्राहकहरूलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीमाथि गरिएको यस प्रकारको घटनाप्रति बैंकर्स संघहरूले ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। करोडौं व्यक्तिहरूको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजितरूपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरूको अराजक क्रियाकलापको भत्र्सना गरिएको बैंकर्सहरूले गरेका छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्