काठमाडौं। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई २ महिना अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंगलबार मन्त्रिपरिषद्ले पारित गरेको १६औं पञ्चवर्षिय योजनामा एसइई दिएर बसेका विद्यार्थीलाई २ महिना अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने विषय समावेश गरिएको छ।
२ महिनाको अवधिमा प्रतिकारात्मक स्वास्थ्य, सन्तुलित भोजन, पाककला र प्राथमिक उपचार, सवारी अनुमति तथा सवारी नियमन, आत्म–सुरक्षा तथा अनुशासन, कार्यक्षेत्र सुरक्षा र यौन दुर्व्यवहार, राष्ट्रप्रेम, स्वयमंसेवा, योग ध्यान तथा कलालगायतका व्यवहारिक विषय समावेश गरी सम्बन्धित निकायहरुसँगको समन्वयमा अनिवार्य अधिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने योजना सरकारले सार्वजनिक गरेको छ।
त्यस्तै विश्वविद्यालयका प्रभावशाली विद्यार्थीलाई सोझै शिक्षण पेसामा प्रवेश गराउने योजना पनि सरकारले सार्वजनिक गरेको छ। साथै निश्चित मापदण्ड बनाइ विदेशी विदार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षण गर्ने कार्यक्रम बनाउने पनि बताइएको छ। १६औं पञ्चवर्षिय योजना आर्थिक वर्ष २०८१÷०८२ बाट सुरु भएर आव २०८५÷०८६ सम्म लागु हुनेछ।











