काठमाडौं। चालू आर्थिक वर्षको ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत महिना १८ खर्ब ७२ अर्ब ८२ करो८ रहेको सञ्चिति १ महिनाको अवधिमा ३९ अर्बले बढेको हो। चैतसम्म रहेको सञ्चिति अमेरिकी डलरमा भने १४ अर्ब ३६ करोड छ।
आइतबार राष्ट्र बैंकले देशको चालू वर्षको ९ महिना अवधिको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा १९. ८ प्रतिशतले मात्र बढेको जानकारी गराएको हो।
रेमिट्यान्स वृद्धि दर अमेरिकी डलरमा भने १७.७ प्रतिशत मात्रै छ। यसअवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ अर्थात् ८ अर्ब १५ करोड डलर नेपाल भित्रिएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसँगै रेमिट्यान्स वृद्धि दरमा पनि संकुचन आएको हो।
गत वर्षको ९ महिनामा ६ लाख ५ हजार नेपालीहरु विदेश कामको खोजीमा गएकोमा चालू वर्षको ९ महिनामा ५ लाख ४२ हजार नेपालीहरु रोजगारीका लागि विदेश गएका छन्। रेमिट्यान्स भने गत वर्ष २४. २ प्रतिशतले बढेको थियो।
त्यस्तै चालू वर्षको ९ महिनामा शोधानान्तर बचत ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ बचतमा छ। गत वर्षको ९ महिनामा शोधानान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोड रुपैयाँले बचतमा थियो। ९ महिनामा चालू खाता भने १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ बचत छ। जबकी गत वर्ष ६० अर्ब ४३ करोडले चालू खाता घाटा थियो।











