काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन्।
बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद् गठन हुनु सकारात्मक रहेको बताए।
साथै स्थानीय श्रमसम्बन्धी विवाद स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरुमा निकै कमी आएको बताए।
नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै आएको उनको भनाइ थियो। सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा लिने गरेको उनले बताए।











