काठमाडौं। चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रुपैयाँ वैदेशिक लगानी सम्झौता गरेको छ।
कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थान बढी बिजुली गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो।
कम्पनीले सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चारपांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाइएको छ। कोसी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीका अनुसार यही वर्षबाटै गाडी उत्पादन सुरु गर्ने योजना छ।
कम्पनीले प्लान्टका लागि विराटनगरको बूढीगंगामा १५ बिघा जग्गा लिइसकेको उनले जानकारी दिए। कम्पनीले १४, १८ र १२ सिटे क्षमताका कमर्सियल गाडी उत्पादन गर्नेछ। पुरी निजी विद्यालयको छाता संगठनका पूर्वअध्यक्षसमेत हुन्।











