काठमाडौं। नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ। पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ भने त्यति नै बिगो कायम गरी सोही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको छ।
अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको थियो। खासगरी दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ ।
सुनिलले आफूले आर्जन गरेको गैरकानुनी सम्पत्तिबाट दाजु अनील पौडेलको नाममा घरजग्गा जोडको अख्तियारले उल्लेख गरेको छ।
पेमेण्ट गेट–वे सम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुनः अर्को मुद्दा दायर गरेको हो।
पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेण्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएकोमा त्यसको किनारा लगाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो। पछिल्लोपटक २०८० माघ १० गते सुनिल पौडेल र अर्का भ्रष्टाचार आरोपित विकल पौडेललाई अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेको तीन महिना पछाडि अख्तियारले विशेषमा मुद्दा लगेको हो।











