काठमाडौं। मुलुकले नौ महिनामै साढे १० रुपैयाँ बढीको व्यापार घाटा बेहोरेको छ। आयातअनुसारको निर्यात हुन नसकेपछि मुलुकले नौ महिनामै १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोर्नुपरेको हो।
भन्सार विभागद्वारा सार्वजनिक चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैतसम्म)को तथ्यांक अनुसार नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। गत वर्षको सोही अवधिमा भने नेपालबाट १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।
एक वर्षको अवधिमा नेपालबाट हुने निर्यात ३.६६ प्रतिशतले घटेको छ। यस्तै, उक्त अवधिमा ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा भारतलगायत विभिन्न मुलुकबाट नेपाल आयात भएको छ। यस्तो आयात गत वर्षको तुलनामा २.८४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने कुल १२ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा आयात र निर्यात दुबै घट्दा नेपालको व्यापार घाटा पनि २.७५ प्रतिशतले घटेको छ। गत वर्षको नौ महिनामा नेपालले १० खर्ब ८३ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो।











