काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीको ४ अर्ब ३० करोड रुपैयाँ मुद्धति खातामा राख्ने बैंक खोजेको छ। केन्द्रीय बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको पैसा राख्न सूचनामार्फत बैंकहरुलाई प्रस्ताव माग गरेको हो।
राष्ट्र बैंक वित्त व्यवस्थापन विभागद्वारा जारी सुचनाअनुसार उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा ३ अर्ब ४४ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६४ करोड ५० लाख र राष्ट्रियस्तका वित्त कम्पनीहरुमा २१ करोड ५० लाख रुपैयाँ मुद्धति निक्षपमा राख्न छुट्याइएको छ।
तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्त कम्पनीहरुले वैशाख ६ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिनुपर्नेछ। राष्ट्र बैंकले शर्त पूरा गरिआइका बैंकहरुमध्ये पनि सबैभन्दा बढी ब्याज दिने बैंकको मुद्धति खातामा कर्मचारीको उपदान तथा पेन्सनबापतको पैसा राख्नेछ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषको पैसा मुद्धतिमा राख्ने बैंक तथा वित्त कम्पनी सञ्चालनमा आएको २ वर्ष पूरा गरेको, न्यूनतम पुँजीकोष कायम गरेको, निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात कायम गरेको, अघिल्लो आर्थिक वर्ष खुद नाफा कमाएको, खुद तरल सम्पत्ति कायम गरेको, समस्याग्रस्त संस्था घोषणा नभएकोलगायत शर्त राखेको छ।











