काठमाडौं। दोलखाबाट सेवा सुरु गरेको रोल्वालिङ यातायातले एकैसाथ तीन वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ।
रोल्वालिङ यातायात सेवा समिति अध्यक्ष मिङ्गुर शेर्पाले यात्रुलाई सहज सुविधा दिने उद्देश्यले डिलक्स बस थपिएको बताए। रोल्वालिङले पहिलोपल्ट डिलक्स बस सञ्चालनमा ल्याएको हो।
बिहीबारबाट नियमित सेवा सुरु गरिएका ती बस पहिलो चरणमा काठमाडौं–लामाबगर क्षेत्रमा सञ्चालन भएका छन्। बस सेवा उद्घाटन भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेती र पत्रकार महासंघ दोलखा अध्यक्ष दीपशंकर चौलागाइले संयुक्त रुपमा गरे। एसी सुविधासहितका बसमा डिलक्स सिट राखिएका छन्।
यी बसमा अन्य बसभन्दा भाडा २० प्रतिशतले बढी रहेको छ। एक यात्रुले काठमाडौंबाट लामाबगरसम्म पुग्न १ हजार १७५ रुपैयाँ तिर्नुपर्छ। एउटा बस ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ।
योसँगै रोल्वालिङसँग ६० वटा बस र १० वटा इभी भ्यान छन्। हाल काठमाडौंबाट दोलखाका विभिन्न गाउँमा सेवा दिँदै आएको छ। रोल्वालिङ यातायात सहकारी मार्फत सञ्चालन हुँदै आएको यो समितिले हाल चरिकोटबाट बर्दीबास र वीरगन्जसम्म सेवा दिँदै आएको छ।
अबको केही समयभित्र चरीकोटबाट बागमती प्रदेशको राजधानी हेटौंडा र मधेस प्रदेश मुकाम जनकपुरसम्म सेवा दिन लागिएको कम्पनीले जनाएको छ। यस्तै, जिरीबाट पशुपतिनगरसम्म दैनिक एउटा गाडीले सेवा दिन लागेको अध्यक्ष शेर्पाले जानकारी दिए।











