नेपाल राष्ट्र बैंकले एटिएम कार्डको शुल्क घटाउन आवश्यक प्रक्रिया सुरु गरेको छ। बैंक तथा वित्तीय संस्थाले एटिएम कार्डको शुल्कमा मनोमानी गर्दै आएपछि केन्द्रीय बैंकले यसलाई नियामकीय सीमाभित्र बाँध्न खोजेको हो।
बैंक तथा वित्तीय संस्थाले डेबिट, क्रेडिट, प्रिपेड र मास्टरलगायत एटिएम मेसिनमा प्रयोग हुने कार्डमा २५ सय रुपैयाँसम्म असुल गरेको सञ्चारमाध्यममा प्रकाशित भएको थियो । त्यसपछि राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले नेपालका बैंक तथा वित्तीय संस्थाले लिने एटिएम शुल्क र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासमा लिइने शुल्कबारे कमिटी नै गठन गरेर अध्ययनसहितको प्रतिवेदन तयार गरेको थियो।
जसमा नीतिगत विश्लेषण तयार गर्न बैंकहरुसँग एटिएम कार्डको शुल्कबारे तथ्यांक माग्न सुरु गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख डा. गुणाकर भट्टले बताए। ‘बैंकहरुले लिने एटिएम शुल्कबारे हामीले अध्ययन गरिहेका छौं, जसका लागि बैंकहरुसँग तथ्यांक मागेका छौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘एटिएम शुल्क व्यवस्थित बनाउने वा नयाँ आएको इन्स्ट्रुमेन्टले त्यसलाई विस्तावित गर्ने भन्ने विषयमा अध्ययन भइरहेको छ।
फिनटेक कम्पनीहरुले ल्याएका डिजिटल भुक्तानीले एटिएम कारोबार विस्तापित गर्दै लगिरहेकाले कार्ड शुल्कको विषयमा थप नियमन गर्न कति आवश्यक हो? भन्ने विषयमा समेत राष्ट्र बैंकले अध्ययन थालेको उनले बताए। यद्यपि एटिएम कार्डमा लिइने शुल्कमा बैंकहरुको मनोमानीबारे राष्ट्र बैंकले आवश्यक नियमनको पहल गरिसकेको डा. भट्टको भनाइ छ।











